के बिहे गरेका मान्छे स्वस्थ हुन्छन् ?
अनुसन्धानकर्ताहरूले उच्च कोलेस्टेरोल जस्ता कारणले हृदयघातको जोखिममा रहेका व्यक्तिलाई विवाहले स्वस्थ रहन र बढी उमेरसम्म जिउन सम्भाव बनाउने देखिएको बताएका छन्।
हालै भएको एउटा मुटुरोगसम्बन्धी सम्मेलनमा अनुसन्धानकर्ताहरूले माया गर्ने पति/पत्नीले तपाईंलाई आफ्नो स्वास्थ्यप्रति सजग रहन उत्प्रेरित गर्ने बताए। उनीहरूले करिब १० लाख बेलायती वयस्कमाझ १४ वर्ष लगाएर गरेको अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका थिए।
अनुसन्धानका सबै सहभागीहरू उच्च रक्तचाप, कोलेस्टेरोल वा मधुमेहका रोगी थिए। सहभागीमध्ये अविवाहितभन्दा विवाहितको स्वास्थ्य स्थिति सुधारिएको पाइयो।
विवाहित हुनु वरदान नै हो त?
यो अनुसन्धानको नेतृत्व एस्टन मेडिकल कलेजका डा. पल कार्टर र उनका सहकर्मीले गरेका थिए। उनीहरूले अनुसन्धानको निष्कर्ष बेलायतमा भएको ‘ब्रिटिस कार्डियो भास्कुलर सोसाइटी कन्फ्रेन्स’मा प्रस्तुत गरेका हुन्। अनुसन्धानले अविवाहित व्यक्तिको तुलनामा विवाहित व्यक्ति हृदयघातबाट बाँच्ने सम्भावना बढी भएको निष्कर्ष निकालेको छ। अनुसन्धानले यस्तो हुनुको कारण खोतल्ने प्रयास गरेको छ।
अनुसन्धानकर्ताहरूले कोलेस्टेरोल र उच्च रक्तचाप लगायत मुटुरोग सम्बन्धी उच्च जोखिम भएका विवाहित व्यक्ति बाँच्ने÷जोगिने सम्भावना बढी हुनुको कारणमा विवाहित जीवनले यस्ता जोखिम वा मुटुसम्बन्धी रोगलाई एउटा सीमामा राख्ने अनुमान गरेका छन्।
अध्ययनले मुटुसम्बन्धी रोग र मृत्युका सबै कारण पनि समावेश गरेको थियो। १४ वर्ष लामो अध्ययनमा सामेल उच्च कोलेस्टेरोल भएका ५० वर्ष, ६० वर्ष र ७० वर्ष उमेर समूहका अविवाहित सहभागीका तुलनामा विवाहित सहभागीको थप बाँच्ने सम्भावना १६ प्रतिशत बढी रहेको पाइयो।
मधुमेह र उच्च रक्तचापपीडित सहभागीमा पनि अविवाहितका तुलनामा विवाहित सहभागीको बाँच्ने सम्भावना त्यही अनुपातमा बढी पाइयो।
तर, अविवाहित तर सँगै बस्ने, छुट्टिएका, सम्बन्ध विच्छेद गरेका र विधुर÷विधवामा भने यस्तो प्रस्ट निष्कर्ष निस्किएन। साथै, अनुसन्धानकर्ताले विवाहित सहभागीहरूको वैवाहिक जीवन खुसीयालीपूर्वक बिताइरहे÷नरहेको भने परीक्षण गरेनन्।
अनुसन्धानकर्ताका अनुसार विवाहको अर्थ बन्धनमा पर्नु होइन बरु आफ्नो जीवनमा अरु कोही विशेष व्यक्ति पनि छ भन्ने सोच महत्वपूर्ण हुन्छ।
‘किन यस्तो हुन्छ, हामीले यसका अन्तर्निहित कारणहरू अझ बढी खोतलेर बाहिर ल्याउनुपर्छ,’ डा. कार्टर भन्छन्, ‘तर विवाहमा केही त पक्कै छ, जसले विवाहित व्यक्तिलाई सुरक्षा दिन्छ। मुटुसम्बन्धी रोगीलाई मात्र होइन मुटुसम्बन्धी रोगको जोखिममा भएकालाई पनि विवाहले सुरक्षा दिन सक्छ।’
तर, डा. कार्टर यसको अर्थ सबैलाई बिहे गर्नैपर्छ भनेर दबाब दिँदैनौँ भन्छन्। उनी भन्छन्, ‘हामीले विवाहबाट हुने यस्ता फाइदाका लागि साथी, परिवार र सामाजिक सेवा सञ्जाललाई उपयोग गर्न सक्नुपर्छ ।’
ब्रिटिस हार्ट फाउन्डेसनका डा. माइक न्याप्टन भन्छन्, ‘यो अध्ययनबाट हामीले लिनुपर्ने सन्देश भनेको उच्च रक्तचापजस्ता कारणले मुटुसम्बन्धी रोगको जोखिममा रहेकाहरूले आफ्नो स्वास्थ्य सबल बनाउन र प्रसन्न रहन सामाजिक अन्तरक्रिया गर्नु महत्वपूर्ण छ।’
डा. कार्टर भन्छन्, ‘तपाईं विवाहित हुनुहुन्छ वा हुनुहुन्न भन्दा पनि महत्वपूर्ण कुरा के हो भने, यदि तपाईं मुटुसम्बन्धी रोगका यस्ता जोखिममा हुनुहुन्छ भने आफ्ना परिवार, आफन्त वा निकटका व्यक्तिसँग यस्ता जोखिम व्यवस्थापन गर्न मद्दत माग्नुहोस्।’
मुटुसम्बन्धी रोगको जोखिमका कारण
– धूमपान,
– उच्च रक्तचाप,
– उच्च ब्लड कोलेस्टेरोल,
– मधुमेहका बिरामी,
– अत्यधिक मोटो हुनु,
– शारीरिक रुपमा निस्क्रिय हुनु/व्यायाम नगर्नु,
– पुख्र्यौलीमा मुटुसम्बन्धी रोग देखिएको,
– उमेर (उमेर ढल्कँदै गएसँगै मुटुसम्बन्धी रोगको जोखिम बढ्दै जान्छ)। –बिबिसी

Comments
Post a Comment